72 औँ श्री सिद्धिविनायक गणेश पूजा भव्य रूपमा सम्पन्न

4 months ago Ashap Lama 0

THE HIMALAYAN BEACON KALIMPONG NEWS BUREAU

कालेबुङ: गत वर्षहरू झैँ कालेबुङ लोवर बोङबस्ती स्थित श्री सिद्धिविनायक गणेश मन्दिरमा आज 72 औँ श्री सिद्धिविनायक गणेश पूजा भव्य रूपमा सम्पन्न भएको थियो। प्रत्येक वर्ष माघ शुक्ल पक्ष चौथीको दिन सम्पन्न हुने गणेश पूजा यस वर्ष पनि श्री सिद्धिविनायक गणेश मन्दिर समितिको आयोजना सम्पन्न भएको थियो। सन् 1946 सालमा स्वर्गिय डिकूरा देवी नेपाल (ठुलीआमा) -ले गणेश मन्दिर निर्माणको निम्ति जमिन दान गरेपछि त्याँहा यस मन्दिर स्थापना गरिएको थियो। मन्दिरमा प्रत्येक दिन पूजा आरधना गरिने गरिन्छ। दैनिक रूपमा पूजा पाठ गर्ने क्रमका साथ प्रत्येक वर्ष माघ शुक्ल पक्ष चौथीका दिन यहाँ गणेश पूजा भनी धुमधामले पूजा पाठ गर्ने गरिन्छ।

सोही क्रममा आज माघ शुक्ल पक्ष चौथीको अवसर पारी श्री सिद्धिविनायक गणेश मन्दिर समितिको अयोजना 5 पन्डितहरूद्वारा अष्ठोत्तरशत गणेश अथर्वशिर्ष पाठका साथ 13 पुरोहितहरूद्वारा रुद्री पाठ, चण्डी पाठ, हवनादी गरिएको मन्दिर समितिका अध्यक्ष लक्ष्मण शर्माले बताएका छन्। मन्दिर समितिको प्रयासमा क्षेत्रमा संस्कृत विद्यापिठ स्थापना गर्ने उद्धेश्यले श्री सिद्धिविनायक संस्कृत विद्यापिठको सथापना गरेको छ भने हाल उक्त विद्यापिठ भवन अर्धनिर्मित अवस्थामा रहेको छ।

यस्तो अपूर्ण कार्यहरू पूर्ण होस् भन्ने हेतुले आजको पूजामा विभिन्न पाठहरू गराइएको शर्माले बताएका छन्। यस्तो अर्धनिर्मित अवस्थामा रहेको संस्कृत विद्यापिठ पूर्ण रूपमा निर्माण गर्न सबै भक्तजनले सहयोग गरिदिने उनले अपिल गरेका छन्। आजको यस पूजामा उपस्थित भएर पूजाको शोभा बढाइदिए वापत उनले समितिको तर्फबाट सम्पूर्ण भक्तजन प्रति आभार व्यक्त गरेका छन्। यसका साथै क्षेत्रमा नेपालको पशुपतीनाथको ढाँचामा निर्मित यस एउटै मात्र मन्दिरको अन्य दिनहरूमा पनि भक्तजनहरू आएर दर्शन गर्नसक्ने उनले थप बताएका छन् ।

Ashap Lama

Ashap Lama is the Chief Cameraman and Coorespondent Kalimpong Region for ‘The Himalayan Beacon’.