PRESS RELEASE: 271 forest dwellers in Darjeeling Hills to receive Land Deeds

3 weeks ago Through Press Release 0

दीर्घकालदेखि वनवासीहरूले उठान गर्दै आइरहेको पर्जा-पट्टाको माग अब पूरा भएको छ। गोर्खा जनमुक्ति मोर्चाको तत्परता अनि राज्य सरकारको सहयोगितामा अब भोलिदेखि नै जीटीएक्षेत्रका वनवासीहरूले आफ्नो भूमिको अधिकार प्राप्त गर्नेछन्। भोलि राजमार्ग 10 अन्तर्गत लोहापूलको हनुमान मन्दिर परिसरमा 271 जना वनवासीहरूलाई पर्जा-पट्टा वितरण गरिनेछ।जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा औं मन्त्री अरूप विश्वास, कालेबुङका जिल्लाशासक अनि भूमि एवं भूमि सुधार विभागका अधिकारी, वन विभाग एवं राजमार्ग अधिकारीहरूको उपस्थितिमा भोलि उक्त वनवासीहरूलाई पर्जा-पट्टा वितरण गरिनेछ।

धेरै वर्षदेखि आफ्नो जमीनको अधिकारदेखि वञ्चित रहेका जीटीएक्षेत्रका वनवासीहरूलाई उनीहरूको जमीनको अधिकार दिलाउन जीटीएले फरेस्ट राइट एक्ट 2006 एवं पश्चिम बंगाल सरकारद्वारा दिसम्बर 2014 मा जारी गरिएको कलकत्ता ग्याजेट नोटिफिकेशनमुताविक गोर्खा जनमुक्ति मोर्चाले वनवासीहरूको पर्जापट्टाको माग गर्दै आइरहेको थियो।

उक्त विषयलाई लिएर जीटीए अध्यक्ष विनय तामाङले 21 नोभेम्बर 2017 मा पिण्टेल भिलेजमा आयोजित द्विपक्षीय वार्तामा कुरा उठान गरेका थिए।उक्त बैठकमा अविलम्ब वनवासीहरूलाई उनीहरूको जमीनको अधिकार प्रदान गरिनुपर्ने माग जीटीए अध्यक्ष विनय तामाङले राखेका थिए भने राज्य सरकारको पक्षबाट पनि उक्त विषयमा सकरात्मक आश्वासन प्रदान गरेको थियो। यसपछि गत 7 फरवरी 2018 मा पनि गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट फेरि राज्य सरकारलाई उक्त मागसम्बन्धि याद दिलाउने कार्य भएको थियो। तथापि राज्यमा हालैमा सम्पन्न भएको पञ्चायत चुनाउको व्यस्तताले गर्दा उक्त मागसम्बन्धि ठोस पहल हुन सकिरहेको थिएन।तर गत केही दिनअघिमात्र जीटीएको सचिवालय लालकोठीमा यस मागसम्बन्धि एक उच्चस्तरीय वार्ता बसी वनवासीहरूलाई पर्जा-पट्टा प्रदान गरिने विषयमा सहमति भएको थियो।

यसर्थ अब भोलिदेखि वनवासीहरूलाई पर्जा-पट्टा प्रदान गर्ने शुरूआत भइरहेको छ। पहिलो चरणमा भोलि 271 जना वनवासीहरूलाई पर्जा-पट्टा वितरण गरिनेछ भने यसपछि क्रमगत रूपमा अन्य वनवासीहरूको पनि वितरण गरिनेछ।

गोर्खा जनमुक्ति मोर्चा एवं जीटीएको तर्फबाट पटक-पटक उठान गरिएको तथा वनवासीहरूको अति महत्त्वपूर्ण मुद्दालाई सम्मान गर्दै पर्जा-पट्टा प्रदान गर्न सहमति जनाएकोमा हामी सम्पूर्ण वनवासीको पक्षमा माननीय मुख्यमन्त्री ममता व्यानर्जी, सम्बन्धित विभागका मन्त्री, सचिव एवं समग्र पश्चिम बंगाल सरकारलाई धन्यबाद दिन चाहन्छौं।
पर्जा-पट्टाको निम्ति लामो समयदेखि संघर्षरत् वनवासीहरूको निम्ति यो अति नै खुशीको खबर हो। सम्पूर्ण वनवासीहरूलाई हामी बधाई अनि शुभकामना पनि व्यक्त गर्दछौं साथै हरेक समस्याहरूको समाधानको निम्ति भविष्यमा पनि हामी वनवासीहरूको पक्षमा रहेको पनि अवगत गराउन चाहन्छौं।